काठमाडौं, २९ कत्तिक । कलाकार दीपकराज गिरी यस वर्षको तिहारमा खासै त्यस्तो योजना केही नभएको बताउनुहुन्छ । तिहार भन्नेबित्तिकै देउसी–भैलो, सेलरोटी र झिलिमिली बत्ती सम्झनुहुन्छ गिरी । उहाँ भन्नहुन्छ, “तिहारमा बज्ने गीतले पनि यो पर्वलाई विशेष बनाउँछ ।”
‘जाने तास नजाने सत्यानास’ भन्ने उखान नै छ । चाड वा उत्सवमा रमाइलोका लागि साथीभाइसँग खालमा जम्नु राम्रो हो । तर जुवामा सबैथोक सिध्याउने तरिकाले लीन हुनु गलत । त्यस्तै तिहार दाजुभाइ र दिदीबहिनी बीचको आत्मीयता बढाउने एक महŒवपूर्ण चाड पनि हो ।
हास्य कलाकार कुमार कट्टेल यसपालिको तिहार काठमाडौँमै मनाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बहिनीहरूसँग टीका लगाएर तिहार यतै मनाइन्छ ।” तिहारमा देउसीभैलो खेल्न नजाने भएकाले सामान्य रूपमा मनाइने भन्दै उहाँले ‘यो तिहार कोरोना समर्पित तिहार हुने’ भन्नुभयो । तास खेल्नकै लागि भनेर उहाँले बजेट छुट्याउनुभएको छैन तर परिवारका सदस्यसँग हल्का जुटपत्ती खेलेर रमाइलो गर्न भने छुटाउनुहुन्न रे ।
त्यस्तै गायक सीताराम पोखरेल आपूmलाई तिहार धेरै मन पर्ने बताउनुहुन्छ । चारैतिर झिलिमिली देख्न पाइने यो पर्वमा देउसीभैलोले अझ रोमाञ्चक बनाउने उहाँ भन्नुहुन्छ । मेरा तीन बहिनीसँग टीका लगाउँछु । देउसीभैलो खेल्दिनँ । घरमा देउसीभैलो खेल्न आउने आफूभन्दा सानासँग रमाइलो गर्ने योजना छ । जुवातास पहिला पहिला त खुब खेलिन्थ्यो तर अहिले त्यस्तो खासै खेल्दिनँ । कोरोनाको बेला साथीभाइ जम्मा हुने कुरा पनि भएन । त्यसैले जुवातास खेलिँदैन ।
यो चाडमा घरलाई झिलिमिली बत्ती र थरीथरीका फूलले सिँगार्ने गरिन्छ । सहरबजार पनि बत्ती, फूलले सिँगारिएको तथा मसला र मिठाईका परिकारले सजाइएको देख्न पाउँछौँ ।
लोकदोहोरी गायिका राधिका हमाल चाडपर्वमा परिवारसँग रहनुको आनन्द छुट्टै हुने बताउनुहुन्छ । परिवारसँग चाडपर्व मनाउनुको रमाइलो नै बेग्लै छ । यस्ता पर्वका अवसरमा सबै आफन्त दाजुभाइसँग भेट हुँदा खुसी लाग्छ । तर यस पटक आफ्नो घर रोल्पा जान नपाएको हुनाले टीका लगाइँदैन होला भन्दै हुनुहुन्थ्यो गायिका हमाल ।
“तिहारमा विशेष गर्ने भनेको दाजुभाइलाई टीका लगाउने नै हो तर कोरोनाले सबै योजना तहसनहस बनाइदियो । अब यहीँ बस्ने, सेलरोटी बनाउने”, उहाँले भन्नुभयो । तासमा जुटपत्ती मात्रै खेल्न आए पनि धेरै पैसा जित्थेँ भन्दै हुनुहुन्थ्यो गायिका हमाल ।
कलाकार बुद्धि तामाङ दशैँभन्दा बढी तिहार मन पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलेपहिले जस्तै दिदीबहिनीसँग टीका लगाएर तिहार मनाउँछु । “तिहारमा गाई, कुकुर र कागको पूजा गरिने भएकाले मलाई सबै पर्वमध्ये तिहार असाध्यै मन पर्छ”, उहाँले भन्नुभयो, “झिलिमिली बत्ती, रङ्गोलीसँगै देउसीभैलो खेलेको हेर्दा बढी रमाइलो लाग्छ ।”

जुवाका लागि पैसा नछुट्याए पनि तास खेल्ने योजना उहाँको छ । “अब हेर्दै जाऊँ कति खेलिन्छ । तासमा फल्स र म्यारिज धेरै खेल्छु”, उहाँले बताउनुभयो । यो खबर गोरखापत्रमा छ ।




