काठमाडौं, २० कात्तिक । नेकपाको एकता संकटमा पर्ने गरी ध्रुवीकरण सुरु भएकै वेला प्रधानमन्त्री केपी ओलीले आफूलाई हटाउने खेल भइरहेको संकेत गरेका छन् ।
स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन र कर्णाली प्रदेश सरकार पुनर्गठनलगायतका विषयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विवाद चर्किरहेका वेला प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट हटाउने खेल भइरहेको प्रस्ट संकेत दिएका छन् ।
यद्यपि, पार्टीभित्र आफूमाथि दबाब हुँदा वा अल्पमतको सामना गर्नुपर्ने अवस्था आउँदा विगतमा पनि प्रधानमन्त्री ओलीले आफूलाई हटाउने खेल भएको बताउँदै आएका थिए ।
चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको बुधबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका छन् ।
राजनीतिक कार्यक्रम नभए पनि प्रधानमन्त्री ओलीले पार्टीभित्र औपचारिक रूपमा नउठेको मुद्दा अगाडि सारेर आफू राजनीतिक र मनोवैज्ञानिक दबाबमा रहेको पनि संकेत गरेका छन् । नेकपामा अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह एक ठाउँ हुँदा ओली सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा अल्पमतमा छन् ।
‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ रु मेरा लागि होइन देशका लागि, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो,’ चिकित्सकहरूलाई प्रश्न गरेर पार्टीभित्रैबाट हटाउने खेल भइरहेको इंगित गर्दै उनले भने, ‘त्यसकारण म राजीनामा दिनेवाला छैन, रिपिटेड्ली ९दोहो¥याएर० भनेको छु फेरि केहीले खोइ त राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’ दबाब हुँदा प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध घेराबन्दी भएको बताउँदै आएका छन् ।

आफूलाई हटाउने षड्यन्त्र भइरहेको दाबी गर्दै ओलीले धेरैपटक अस्थिरताको कोसिस भए पनि सफल नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको र सरकार फेरिन्छ कि भन्ने द्विविधामा नपर्नसमेत आग्रह गरे । यो खबर आजको नयाँपत्रिकामा छ ।




