गलकोट, १५ कात्तिक । गलकोट नगरपालिका–३ हटियाका गुमानसिंह खत्रीको मन कहिल्यै विदेश मोहमा तानिएन ।
खत्रीलाई सानै उमेरबाट कृषिप्रति लगाव रहिरह्यो । उमेरले ४५ वर्ष पुग्नुभएका खत्रीले २५ वर्षदेखि व्यावसायिक कुखुरापालन, २०५७ सालदेखि फ्रेस हाउस, २०६३ सालदेखि हाइटेक प्रविधिमार्फत तरकारी खेती र २०७२ सालदेखि व्यावसायिक किबी खेती गर्दै आउनुभएको छ । “यहाँका अधिकांश साथीहरु विदेश पलायन भएका छन् । विदेशमा पनि धन कमाउन त्यति सजिलो छैन”, खत्रीले भन्नुभयो, “स्वदेशमा आफैँ माटोमा रमाएर धेरथोर कमाउदा पनि सन्तुष्ट छु, विदेश जाने कहिल्यै मोह आएन ।” निरन्तर २५ वर्षदेखि ब्रोइलर कुखुरा पालन गर्दै आउनुभएका खत्रीले पछि तरकारी तथा किबी खेती थाल्नुभएको हो ।
खत्री आफू मात्रै हैन, गलकोट क्षेत्रलाई तरकारी र मासुमा पाँच वर्षभित्र आत्मनिर्भर गर्ने गरी नगरस्तरीय कृषि सञ्जालको अध्यक्ष भएर कृषि जागरण ल्याउनमा सक्रिय हुनुहुन्छ । गलकोट क्षेत्रमै २०५२ सालमा पहिलो पटक व्यावसायिक कुखुरापालन शुरु गर्दा धेरैले पत्याएका थिएनन्, गुमानसिंह सफल कृषक बन्नेछन् भनेर । उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “यो बीचमा धेरै उतार चढाव आए, कहिले घाटा भयो, कहिलो नाफा भयो ।”
निरन्तरको कृषि लगावका कारण कृषक खत्री अहिले बागलुङकै सफल कृषकका रुपमा परिचित हुनुहुुन्छ । जामुने कृषि फर्ममार्फत व्यावसायिक उत्पादन गर्दै आउनुभएका खत्रीको फर्ममा ८०० ब्रोइलर कुखुरा, चार हाइटेक टनेल, चार सामान्य टनेलमा सिमी, बोडी, गोलभेडालगायत तरकारी उत्पादन भएका छन् भने काउली बन्दा लगाउने क्रम शुरु भएको छ ।
“कुखुराबाट वार्षिक १५ लाख र तरकारीबाट वार्षिक ६ लाख कारोवार हुन्छ”, खत्रीले भन्नुभयो “दुदिलाभाटीमा लगाएको किबी खेतीले बल्ल उत्पादन दिन थालेको छ, अघिल्लो वर्षमा तीन लाखको किबी बिक्री गरे ।” खत्रीका अनुसार लगभग वार्षिक १२ लाख बचत हुने गर्दछ ।

सबै आम्दानीबाट खर्च कटाउदा वार्षिक पाँच लाख रकम बचत गर्दै आएको उहाँको भनाइ छ । उहाँको काममा आमा, श्रीमती र अन्य दुई कामदार खटिँदै आएका छन् । जेटिए स्तरको तालीम लिनुभएका खत्रीले हालसम्म १२ लाख बढी रकम सरकारीस्तरबाट अनुदान पाइसक्नुभएको छ । दुदिलाभाटीमा खत्रीले २० रोपनीमा पाँच वर्षदेखि किबी खेती गर्दै आउनुभएको छ । अहिले उहाँको २०० किबीको बोटबाट गत वर्ष तीन लाख कमाइ गरेको बताउनुहुन्छ । अहिले १५ क्वीन्टलभन्दा बढी उत्पादन गर्ने लक्ष्य रहेको खत्रीको भनाइ छ ।




