रसुवा, १० माघ । दक्षिणी रसुवामा खेतबारीमा लगाएका हिउँदे आलु बाँदरले नोक्सान गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा नं ५ गैरीफाँट खेत, बडहरे, चित्ती, रूप्सेपानी भदौरे, धुसेनीलगायतका क्षेत्रमा रोपिएका हिउँदे आलुको बोटसमेत उखेलेर बाँदरले कलिला फल खान थालेपछि किसान चिन्तित भएका हुन् ।
आलु खान कम्तीमा २०० भन्दाबढीको सङ्ख्यामा बाँदरका हुल आउने र १०-२० जनाले बाँदरलाई लखेट्न नसक्ने भएपछि सयौँ किसान हिउँदे प्रमुख बाली जोगाउन सामूहिक पहरा दिइरहेका र पहरा दिँदा दिँदै पनि खेतीमा रहेका आधाभन्दा बढी बिरुवा नोक्सान भइसकेको किसान बताएका छन् ।
सयौँ हेक्टरमा लागाइएका आलुको बिरूवाले उत्पादन दिन थालिसकेको र फल दिइरहेका बिरुवा रातको समयमा समेत उखलेर बाँदरले खान थालेको बताइएको छ ।

रसुवाको प्रत्येक गाउँ क्षेत्रमा बाँदरको सङ्ख्या बढ्दै जाँदा कृषि उपज कसरी जोगाउने भन्ने विषयमा अध्ययन गराई बाँदर व्यवस्थापनको पहल कदमी चालिदिन सरकारसामु किसानले विनम्रतापूर्वक आग्रह गरिरहेको जनाइएको छ ।
बाँदरको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि खेतबारीको अलावा घरमा भण्डारण गरिराखेको अन्नपातसमेत घरको धुरीबाट बाँदरले लाने गरेको र घरमा बाँदर पस्न छालेपछि ससाना बालबालिका डराउन थालेको दक्षिणी रसुवाका बासिन्दा बताउँछन् ।




