सिराहा, २० असोज । सिराहा कल्याणपुर नगरपालिका–१२ बेल्हा मुसहरीको ऐलानी जग्गामा बस्दै आएका विजय सदालाई जनता आवास ९सरकारी आवास० कार्यक्रमअन्तर्गत घर बनाउन छानियो ।
नयाँ पक्की घर बनाउन पाउने भएपछि उनले पुरानो घर भत्काए । तर, पाँच छोराछोरी, आमा र श्रीमतीसहित बस्दै आएका विजयलाई अहिले सास्ती भएको छ । न त सरकारी आवास बनेको छ, न पुरानो आफ्नो घर छ । वर्षा, बाढी, हावाहुरी, कठ्यांग्रिने जाडो र तराईको शीतलहरमा परिवारले ठूलो कष्ट भोग्नुपर्छ ।

जनता आवास पाउने आसमै भएको घर भत्काएकी सोही ठाउँकी पवनदेवी सदालाई उल्टै ७० हजार ऋण लागेको छ । नयाँ घर बनाउन पुरानो घर भत्काए पनि निर्माणमा ढिलाइ भएपछि ऋण लिनुपरेको उनले बताइन् । ‘वर्षाका वेला अरूको घरमा आश्रय लिनुपर्छ, ऋण लिएर पनि घर बनाउन सकिनँ,’ उनले भनिन् ।
सिराहा कल्याणपुर नगरपालिका–१२ बेल्हामै १० परिवारलाई जनता आवासअन्तर्गत सरकारी आवास चार वर्षदेखि निर्माणाधीन छ । १० मध्ये दुईजनाले जेनतेन ऋण लिई बस्नलायक घर बनाएका छन् भने आठजनाका घर अधुरै छन् ।
सिराहाकै कल्याणपुर नगरपालिका–८ मझौलियामा पनि आर्थिक वर्ष ०७२-७३ देखि १० विपन्न परिवारको घर निर्माण सुरु गरिएको थियो । सातजनाको घर बल्ल तीन महिनाअघि पूरा भएको छ ।रामनारायण सदा, विश्वनाथ सदा र राजकुमार पासमानको घर अझै बन्न सकेको छैन । उनीहरूको घर जस्तापाता राख्नसम्म निर्माण पुगेको छ । तर, सरकारी रवैयाका कारण त्यो घर बस्नलायक हुन सकेको छैन ।
सिराहाकै सुखिपुर नगरपालिका–४ कविलासीमा विपन्न परिवारका २० घर बनाउने योजनाको सुरुवात आव ०७२(७३ देखि सुरु भयो । त्यसमध्ये १० घर डेढ वर्षअघि मात्रै बनेका छन् ।
बाँकी १० घर चार महिनाअघि मात्रै निर्माण सम्पन्न भए । दुई लाख १० हजारमा घर र १० हजारमा शौचालय बनाउनुपर्ने भए पनि १० वटा घरको शौचालय अझै निर्माण गरिएको छैन । श्यामकुमारी पासमान, रविया पासमान, समपैत पासमान, विद्यानन्द पासमान र भिखारी पासमानलगायतको घरमा शौचालय बनेका छैनन् ।
यो खबर आजको नयाँपत्रिकामा छ ।




