सिरहा, १९ असोज । ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन्।
विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुघ्न साह, राजकुमार साह, रामउद्गार यादव, जगवीर यादव, राजकुमार यादव र रौदी भनिने श्यामसुन्दर यादवलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो।
श्यामसुन्दर स्थानीय तह निर्वाचनमा राजपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए। जगवीर र राजकुमार यादव कांग्रेसमा आबद्ध छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको डीएसपी शालिग्राम पौडेलले बताए।

स्थानीय २० वर्षीय मुकेशकुमार साहले छिमेकी १६ वर्षीया किशोरीलाई यही असोज १२ गते बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। उक्त घटना थाहा पाएपछि सुरुमा स्थानीय नेताहरूले गाउँमै मिलापत्र गर्नुपर्ने दबाब बढाएका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।




