काठमडौं, १८ भदौ । १५ भदौमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना पोजिटिभ देखियो । त्यसअघि १२ भदौमा सांसद तथा उद्योगी विनोद चौधरीमा संक्रमण पुष्टि भयो । त्यसको भोलिपल्ट डा. भोला रिजाल दम्पतीको रिपोर्ट पनि पोजिटिभ आयो ।
कोभिड–१९ संक्रमणका यी सबै हाइप्रोफाइल केस ४ भदौमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेपछि देखिएका हुन् ।
निषेधाज्ञा लागू गरिएको बुधबार दुई साता पूरा भएको छ । तर, निषेधाज्ञाका बाबजुद संक्रमण घट्नु साटो बढ्दो क्रममा छ । बरु निषेधाज्ञा जारी भएपछिका १४ दिनमा उपत्यकामा अघिल्लो ६ महिनामा भन्दा धेरै संक्रमित थपिएका छन् ।
हाल होम आइसोलेसन रहेका मेयर शाक्य सबैलाई सावधानी अपनाउन आग्रह गर्छन् । भन्छन्, ‘संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ, उपत्यकामा संक्रमण फैलिन नदिने प्रयासमा हामी निरन्तर जुटिरहेका छौँ ।’
१० माघदेखि ३ भदौसम्म उपत्यकामा दुई हजार पाँच सय आठजनामा मात्र संक्रमण देखिएको थियो । ४ भदौयता यो संख्या बढेर ६ हजार पाँच सय ९३ पुगेको छ ।

चीनको वुहानबाट आएका ३२ वर्षे युवकमा १० माघमा नेपालमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । नेपालगन्जका स्थायी बासिन्दा उनी वुहानबाट फर्केर काठमाडौंमा बसिरहेका थिए । यो खबर आजको नयाँपत्रिकामा छ ।




