काठमडौं, १७ भदौ । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै विदेशमा निःशुल्क उद्धारको पर्खाइमा रहेका बेखर्ची श्रमिकहरूले सात गुणासम्म महँगो हवाई टिकट किन्नुपर्ने अवस्था सिर्जना भएको छ । विदेशमा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन १७ भदौदेखि केही मुलुकहरूबाट नियमित उडान गर्न सरकारले स्वीकृति दिएको छ ।
तर, एयरलाइन्स कम्पनीहरूको टिकट दर चार्टर उडानभन्दा दुई गुणा तथा सामान्य अवस्थाको दरभन्दा सात गुणासम्म महँगो रहेको छ । सरकारले युएई, मलेसिया, जापान, चीन, हङकङ, टर्की, कोरिया र कतारबाट नियमित उडान गर्ने भएको थियो ।
सामान्य समयमा मलेसिया उडानमा एकतर्फी उडानको १६ हजारदेखि २२ हजार रुपैयाँ थियो । तर, सरकारले हालै खोलेको नयाँ नियमित उडानमा भने नेपाल फर्कन १ लाख ४१ हजारसम्म तिर्नुपर्ने भएको छ । सामान्य अवस्थामा बढीमा २५ हजार रुपैयाँमा नेपाल फर्कन पाउने युएईमा काम गर्ने मजदुरले ८० हजारसम्म तिर्नुपर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक महिनामा ५५ उडान गर्ने तालिका सार्वजनिक गरेको छ । जसमा विदेशी एयरलाइन्सलाई २९ वटा, नेपाल वायुसेवा निगमलाई १७ वटा, हिमालय एयरलाइन्सलाई १२ वटा उडान तोकिएको छ । चार्टर उडानतर्फ २७ वटा उडानतालिका सार्वजनिक गरेको छ । तर, पिसिआर र आरटिडी परीक्षण सहज नभएका र अन्तर्राष्ट्रिय उडान नखुलेका खाडी मुलुकमा भने चार्टर उडान नै गर्ने भएको छ ।

सरकारले शुरु गरेको अहिलेको नियमित उडानमै पनि मलेसियाबाट चार्टरभन्दा टिकट मूल्य अत्यधिक चर्को भएको नेपाली समाज मलेसियाका अध्यक्ष वीरेन्द्रकुमार नेगीले बताए । मलेसियाबाट नेपाल फर्कन नेपाल एयरलाइन्सको दर सेप्टेम्बर ३० मा १ लाख ४१ हजार रुपैयाँ (५,०४० रिंगेट) सम्म रहेको मलेसियामा रहेको ट्राभल एजेन्सी स्काई होम ट्राभल एन्ड टुरले जनाएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।




