काठमाडौं, १६ भदौ । मास्क नलगाएकालाई बैंकभित्र प्रवेश गर्न रोक लगाउँदा सेक्युरिटी गार्ड कुट्ने तीन जना पक्राउ परेका छन्।
प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका ४का ३२ वर्षीय लालबहादुर थापा, धनराज पौडेल र वडा नम्बर ८ का २९ वर्षीय बिमल कोइरालालाई सोमबार पक्राउ गरेको हो।
उनीहरू भदौ २ गते वडा नम्बर ९ सुन्तलिटारस्थित कृषि विकास बैंकमा चेक साट्न गएका थिए। मास्क नलगाएको हुँदा बैंकका सुरक्षा गार्ड ४८ वर्षीय डोलराज श्रेष्ठ र ५७ वर्षीय बेदप्रसाद श्रेष्ठले उनीहरूलाई प्रवेश गर्नबाट रोके।

सुरक्षागार्ड श्रेष्ठद्वयले उनीहरूलाई मास्क लगाएर मात्रै भित्र प्रवेश गर्न अनुरोध गरेका थिए। तर उनीहरुले सुरक्षागार्डलाई गालीगलौज गर्न थाले, हातपात तथा कुटपिट गरी घाइते बनाए।
सुरक्षागार्डलाई कुटेपछि उनीहरु फरार रहँदै आएकोमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।
उनीहरूलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसूर अन्तर्गत अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले मंगलबार जिल्ला प्रशासन कार्यालय, स्याङ्जाबाट १५ दिनको म्याद थप गरेको छ।




