विराटनगर, साउन ११ । विराटनगर बसपार्कबाट रित्तै छुट्ने सार्वजनिक यातायात बसमा मोरङको उर्लाबारीसम्म पुग्दा पनि सिटमा बसिदिने कोही हुन्नन् ।
चार महिनाको बन्दाबन्दीपछि सार्वजनिक यातायात खुले पनि स्वास्थ्य प्रोटोकल अपनाएर तोकिएका सिटमा बसेर यात्रा गर्ने यात्रु नपाउने गरिएका हुन् । चार दिनदेखि बसपार्कबाट फाट्टफुट्ट बस छुट्न थालेका हुन् ।
सुनौलो पूर्व नेपाल यातायात प्रालिका कोषाध्यक्ष राजु धमलाका अनुसार विराटनगर–इनरुवा, उर्लाबारी र धरानसम्मको यात्राका लागि दैनिक १० देखि १५ वटा बस छुट्ने गर्दछन् तर बसपार्कबाट निस्कँदा अधिकांशले एक जना पनि यात्रु चढाएका हुन्नन् ।
छोटो दूरीका लागि म्याजिक भेनहरू ४० देखि ५० को सङ्ख्यामा विराटनगरबाट छुट्दै आए पनि बसमा चढ्ने यात्रु नभएको धमलाले बताउनुभयो । सामान्य अवस्थामा विराटनगर–काँकडभिट्टा ओहोर–दोहोर गर्ने १५० सवारी साधन थिए । तिनै बसमध्ये केहीले विराटनगर–उर्लाबारी गरिरहेका हुन् ।

विराटनगर–धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर छुट्ने बसमध्ये केहीले धरानसम्म यात्रु लिएर आउजाउ गरिरहेका छन् । सप्तरी, उदयपुर र सुनसरीको इनरुवासम्मका बसले इनरुवासम्म यात्रु बोक्ने गरेका छन् । यो खबर आजको गोरखापत्रमा छ ।




