सुर्खेत, साउन १० । कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ ।
प्रदेश सरकारले छोरीमाथि हुने विभेद हटाई आर्थिक र सामाजिक सुरक्षा दिन गत वर्ष उक्त कार्यक्रम ल्याएको थियो । सामाजिक विकास मन्त्रालयका अनुसार पाँच हजार ९४५ छोरीको बैङ्क खाता खोलिएको हो ।
सामाजिक विकास महाशाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले सबैभन्दा बढी दैलेखमा एक हजार ३१७ छोरीको बैङ्क खाता खोलिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतमा ७२३, सल्यानमा ७०६, रुकुम पश्चिममा ८५२, जाजरकोटमा ५५३, डोल्पामा १६७, जुम्लामा ५४४, कालीकोटमा ७०४, मुगुमा ३०६ र हुम्लामा ७३ छोरीको बैङ्क खाता खोलिएको छ ।
स्थानीय सरकारमार्फत सरकारले छोरीको बैङ्क खाता खोलिदिने गरेको हो । गत आर्थिक वर्षमा सरकारले कर्णालीमा जन्मिने छोरीको बैङ्क खाता खोल्न तीन करोड ४० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये दुई करोड ८४ लाख रुपियाँ मात्रै खर्च भएको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्न देशभर बन्दाबन्दी भएपछि उक्त कार्यक्रम प्रभावित बनेको थियो । गत आर्थिक वर्षमा धेरै छोरीको खाता खोल्न छुटेकाले आगामी भदौ ५ गतेसम्म खोलिसक्ने गरी कार्यविधि संशोधन गरिएको ज्ञवालीले बताउनुभयो । बन्दाबन्दीले असर गरे पनि यसलाई यसवर्ष प्रभावकारी रूपमा अघि बढाइने जनाइएको छ । यो खबर आजको गोरखापत्रमा छ ।




