काठमाडौँ, ९ साउन । गत राति परेको अविरल वर्षाका कारण चाँगुनारायण नगरपालिका वडा नम्बर–३ झौखेलस्थित दाहाल गाउँमा पहिरो जाँदा बस्तीनै जोखिममा परेको छ।
पहिरो झण्डै पचास मिटर तलसम्म खसेको छ। निकै ठूलो पहिरोले बच्चुराम दाहाल, सालिकराम दाहाल, सीताराम दाहाल, रामप्रसाद दाहाल र गणेश खत्रीको घर जोखिममा परेको हो।

हालसम्म पनि विस्तारै माटो खसिरहेकोले झन् त्रसित बनेका छन् भने जनक केसी र रमेश केसीको घर समेतलाई जोखिम रहेको छ। वडा नम्बर ३ का वडा अध्यक्ष श्याम सुन्दर धिमालले अस्थायी रोकथामका लागि प्लास्टिकको व्यवस्था गरिने बताउँदै पहिरो निकै ठूलो गएकोले डेढ दुई करोड खर्च लाग्ने हुँदा हिउँद लागेपछि सम्बन्धित निकायमार्फत् जोखिम व्यवस्थापन गरिने बताए।




