काठमाडौं, असार ३० । काठमाडौ उपत्यकमा तरकारीको भाउ कालीमाटी थोक बजार र खुद्रामा आकाश–पातालको फरक पाइएको छ ।
कालीमाटी तरकारी बजारमा प्रतिकेजी १२ रुपियाँले किनबेच भएको गोलभेँडा खुद्रामा ६०रुपैयाँले किनबेच भएको पाइएको छ । गत वर्ष यस अवधिको तुलनामा अहिले हरेक तरकारीको भाउ सस्तो भएको छ तर खुद्रा बजारमा तरकारी एकदम महंगो भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संस्थाका अनुुसार थोक बजारमा तीन/चार वर्षयताकै तुलनामा अहिले तरकारी भाउ सस्तो भएको दाबी गरेको छ । लकडाउनका कारण बजारमा तरकारी कम आपूर्ति हुँदासमेत खरिद मूल्य पाउन गाह्रो भएको बताइएको छ। अघिल्लो वर्ष असार २९ गते गोलभेँडा प्रतिकेजी भाउ ६४ रुपियाँ थोकमा किनबेच भएकामा अहिले १२ रुपियाँमा कारोबार भइरहेको छ ।

यस्तै बन्दा प्रतिकेजी ४० रुपियाँ भएकामा अहिले १८ रुपियाँ मात्रै छ । घिउसिमी १३५ रुपियाँ भएकामा अहिले ४० रुपियाँ छ भने बोडी ९८ रुपियाँ थोक मूल्य भएकामा अहिले ३३ रुपियाँ छ ।
यो वर्ष थोक बजारमा तरकारीको भाउ सस्तो भए पनि खुद्रा बजारमा भने छोइनसक्नु छ । थोकमा १८ रुपियाँ प्रतिकेजीको बन्दा ७० रुपियाँ, ३८ रुपियाँको मूला ८० रुपियाँ, ३० रुपियाँको स्थानीय काँक्रो ८० रुपियाँ, ३३ रुपियाँको तने बोडी ८० रुपियाँ, २५ रुपियाँको तीतेकरेला ८० रुपियाँ खुद्रामा किनबेच भइरहेको छ । यो खबर गोरखापत्र दैनिकमा छ ।




