झापा, ३ असार । झापामा अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत बनाइएका छन् । विद्यालयमा बनाइएका क्वारेन्टाइनमा एउटै कोठामा कोचाकोच गरेर मान्छे राखिएका छन् । ‘एउटै कोठामा कोचाकोच छ, उही ओछ्यान छ ।
एकजनामा संक्रमण देखिए सबैलाई सर्ने त्रास छ,’ गौरीगन्ज–६ स्थित खजुरगाछी माविको क्वारेन्टाइनमा बसिरहेका लक्ष्मीप्रसाद ताजपुरियाले भने । उनीसँगै एउटै कोठामा सातजना बसेका छन् । जसमध्ये चारजनालाई कोरोना देखिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनीसहित तीनजना भने अझै त्यही कोठा र ओछ्यानमा सुत्दै आएका छन् ।स्थानीय सरकारले कोठामा स्यानिटाइजरसमेत नछर्केको ताजपुरियाले बताए । ‘कोठा सारिदिनू या विषादी छर्केर सफा गरिदिनू भन्यौँ, कसैले मानेनन् ।

हामी आफैँले पानी लगाएर कोठा सफा ग¥यौँ । कोरोना सर्छ कि भन्ने त्रासमा बस्नुपरेको छ,’ उनले भने । उनको सँगैको कोठामा सातजना बसेका छन् । सबैले प्रयोग गर्ने शौचालय र नुहाउने ट्युबेल पनि एउटै छ । ‘स्यानिटाइजर माग्दा किन चाहियो भन्नुहुन्छ, साबुन पनि एउटा मात्र छ,’ क्वारेन्टाइनमा रहेका बुद्धनारायण गनगाईंले भने । यो खबर नयाँ पत्रिकामा छ ।




