काठमान्डौ, २८ जेठ । विद्यालयको मूल गेटमा ताल्चा लगाइएको छ । चौरमा प्रहरी जवान तैनाथ छन् । विद्यालय वरिपरिको पर्खाल आधा मात्र बचेको छ । खुला ठाउँबाट संक्रमित भाग्ने चिन्ताले डोरी बाँधिएको छ । आइसोलेसनमा रहेका संक्रमित डोरीसम्म आएर बटुवासँग गफिन्छन् । यो जानकी गाउँपालिका–२ स्थित श्री माध्यमिक विद्यालय आइसोलेसन सेन्टरको दृश्य हो ।
बाँकेको जानकी गाउँपालिका–२ को श्री माध्यमिक विद्यालयमा स्थापना गरिएको आइसोलेसन सेन्टरमा रहेका संक्रमित । तस्बिर स् मधु शाहीरकान्तिपुर
यहाँ अहिले ४१ जना संक्रमित छन् । विद्यालय मूल सडकसँगै जोडिएको छ । गर्मी भएकाले संक्रमित विद्यालयको पर्खालछेउमा छहारी खोज्दै सडकको गतिविधि नियालिरहेका हुन्छन् । मूल सडक र पर्खालबीच मुस्किलले एक मिटरको दूरी छ । मास्क नलगाएका स्थानीय बासिन्दा साइकल वा पैदल यही पर्खालछेउ हुँदै गन्तव्यतर्फ गइरहेका देखिन्छन् । संक्रमितहरूलाई व्यवस्थित रूपमा नराखिँदा र स्थानीयमा मास्क नलगाई आइसोलेसन सेन्टरको वरपर जानु हुँदैन भन्ने हेक्कासमेत नहुँदा संक्रमणको जोखिम समुदायस्तरमै फैलिने खतरा बढेको छ ।
यहाँबाट सोमबार राति डोरी नाघेर एक संक्रमित भागेका थिए । मध्यरात गर्मी र लामखुट्टेले अत्याएर चौरमा बसिरहेका बेला शौचालय जान्छु भन्दै निस्किएपछि नफर्किएको उनका साथीले बताए । ‘गर्मीले निद्रा परेन, खुला चौरमा बसेका थियौं,’ ती व्यक्तिले भने, ‘ट्वाइलेट जान्छु भनेर गएको मान्छे आउँदै आएन ।’ यहाँ रहेका संक्रमितको विश्वासका भरमा सेन्टर सञ्चालन भइरहेको छ । ड्युटीमा खटिएका प्रहरीले संक्रमितको धैर्यले आइसोलेसन टिकेको बताए । ‘स्कुलपछाडि खुला छ, कतिबेला भाग्छन् पत्तै हुँदैन,’ यहाँ तैनाथ प्रहरी जवान बखत खड्काले भने । जानकी–२ का वडाध्यक्ष मोहमदराज राईले आइसोलेसनबाट भागेका संक्रमितको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए ।
स्थानीय सरकारले आइसोलेसनको व्यवस्थापनमा ध्यान नदिँदा स्थानीय जोखिममा परेका हुन् । उक्त विद्यालय जानकी–१ र २ वडाको बीचमा रहेको छ । यहाँबाट आधा किलोमिटर दूरीमा जोगा, भैयापुर बस्ती रहेका छन् । ‘संक्रमितलाई त अस्पतालमा राख्नुपर्ने हो,’ भैयापुरका सटु मुराउले भने, ‘हामी डरले रातभर सुत्न सकेका छैनौं ।’

विद्यालयका दुईवटा साना भवन छन् । एउटा भवनमा २२ र अर्कोमा १९ जना बसिरहेका छन् । सबैलाई एकरएक म्याटरेस दिइएको छ । केहीले घरबाटै बिस्तरा मगाएका छन् । ‘झुल पनि छैन, मच्छडले टोकेर निदाउनै सकिन्न,’ आइसोलेसनमा रहेका एक युवाले भने, ‘भुइँमा सुत्दा सर्पले टोक्ला भन्ने चिन्ता छ ।’ उनीहरु डोरीछेउमा उभिएर घरबाट आएका आफन्तसित कुरा गर्छन् । बाटो हुँदै आउने आफन्ती, छिमेकी र गाउँलेलाई हात हल्लाउँदै गफिन थाल्छन् । यहाँको आइसोलेसन क्वारेन्टाइनभन्दा पनि अव्यवस्थित रहेको स्थानीयले गुनासो गरे । यो समाचार कान्तीपुर दैनिकमा छ ।




