काठमान्डौ, २८ जेठ । जारी लकडाउनकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारीसाधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवनसमेत प्रभावित हुन थालेपछि मानिस काममा निस्कन थालेका कारण सडकमा सवारीसाधनको चाप बढेको हो ।
प्रहरीले सवारीसाधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारीसाधनबाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचयपत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनै पनि संस्थाको परिचयपत्रविना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । सवारीसाधनको चाप बढेसँगै पेट्रोल र डिजेलको खपतमा समेत वृद्धि भएको छ ।
नेपाल आयल निगम थानकोट डिपोका प्रमुख प्रदीप यादवका अनुसार अन्य दिनको तुलनामा पेट्रोल र डिजेलको खपतमा वृद्धि भएको छ । गत शुक्रबारसम्म दैनिक दुई सय किलोलिटर पेट्रोल र चार सय किलोलिटर डिजेलको खपत हुँदै आएकामा आइतबार दुई सय २६ किलोलिटर पेट्रोल र पाँच सय २९ किलोलिटर डिजेल खपत भएको छ । सोमबार दुई सय ८८ किलोलिटर पेट्रोल र चार सय ३७ किलोलिटर डिजेल खपत भएको सो डिपोले जनाएको छ ।
यादवका अनुसार थानकोटको भण्डारण क्षमतामध्ये पेट्रोल ८५ प्रतिशत र डिजेल ७५ प्रतिशत मौज्दात रहेको छ । क्षमता हुँदाहुँदै पनि भारी मात्रामा तेल राख्न नमिल्ने कारण ट्यांकरमा नै तेल राखिएको उनले जानकारी दिए । उनका अनुसार ८० ट्यांकर पेट्रोल र एक सय २० ट्यांकर डिजेल डिपोमा राखिएको छ । लकडाउनभन्दा अघिसम्म उपत्यकामा मात्र दैनिक ६ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलको खपत हुँदै आएको थियो ।

डिजेल खपतमा कमी स् एसोसिएसन
आइतबारदेखि निजी सवारीसाधन सञ्चालन हुँदा पेट्रोलको खपतमा वृद्धि भए पनि डिजेलको खपतमा कमी आएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले जनाएको छ ।
पहिलाका तुलनामा पेट्रोलियम पदार्थको खपत केही मात्रामा वृद्धि भए पनि डिजेल खपतमा कमी आएको एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए । उनले भने, ‘दुईपाङ्ग्रे निजी सवारीसाधन सञ्चालनमा आउँदा पेट्रोलको खपतमा वृद्धि भएको हो । सार्वजनिक यातायात र उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ ।’
एसोसिएसनका अनुसार आइतबारदेखि काठमाडौं उपत्यकामा पेट्रोलको खपतमा ३० प्रतिशतले वृद्धि भएको छ भने देशैभरमा पेट्रोलियम पदार्थको खपतमा ३३ प्रतिशतले वृद्धि भएको छ । यो समाचार नयाँ पत्रीकामा छ ।




