काठमाडौं, २८ जेठ । नेपाल इन्भेस्टमेन्ट बैंकले इटलीको उच्च अदालतबाट मुद्दा जितेको छ। यससँगै तनहुँ हाइड्रोपावर कम्पनीलाई यसअघि बैंक जमानतबापत भुक्तानी गरेको करिब २ अर्ब १० करोड रुपैयाँ प्राप्त गर्ने बाटो खुलेको बैंकले बताएको छ। ‘हामीले इटलियन बैंकको विश्वासमा काम गरेको हो, त्यसैले हामीलाई अब इटलीको बैंकले पैसा दिनुपर्छ’, बैंकका वरिष्ठ प्रबन्धक दीपक श्रेष्ठले भने।
नेपाल इन्भेस्टमेन्ट बैंकले इटलीको बैंक इन्टेसा सानपाओलोको विश्वासमा इटलियन कम्पनी कोअपरेटिभा मुराटोरी सिमेन्टीसिटी डि रेभेन्ना ९सीएमसी०लाई बैंक ग्यारेन्टी दिएको थियो। तनहँु हाइड्रोपावरको ठेक्काका लागि सीएमसीलाई ८५ करोड १४ लाख रुपैयाँ र ४७ लाख ४९ हजार युरो ९कुल रु। २ अर्ब १० करोड० बराबरको बैंक ग्यारेन्टी दिएको थियो।
मेलम्ची खानेपानी आयोजनाको समेत ठेक्का पाएको सीएमसी भागेपछि तनहँु हाइड्रोले गत वर्षको फागुनमा इन्भेस्टमेन्ट बैंकसँग जमानत जफत गरेको थियो। इन्भेस्टमेन्ट बैंकका तर्फबाट मुद्दा लडेका अधिवक्ता गान्धी पण्डितले विदेशी बैंकको बैंक ग्यारेन्टी सरकारी ठेक्कामा मान्य नहुने हुँदा इन्भेस्टमेन्ट बैंकले इटलीको बैंकको तर्फबाट बैंक ग्यारेन्टी दिएको बताए।

यो मुद्दामा जितेसँगै नेपाली बैंकले विदेशी ठेकेदारसँग काम गर्नुपरेको अप्ठ्यारोमा केही आत्मबल मिलेको बताए। यसअघि मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वे ब्युरो–१५ लाई चिनियाँ बैंकको विश्वासमा जारी गरिएको बैंक ग्यारेन्टीमा तत्कालीन बैंक अफ काठमान्डू र हिमालयन बैंकले यस्तै समस्या भोगेका थिए। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।




