पहिलोपटक नेपाली नक्सामा लिम्पियाधुरा, ३१० वर्गकिलोमिटर भूभाग थपियो

`

     २०७७ ज्येष्ठ ०६ गते १:५०

काठमाडौं, ६ जेठ । नापी विभागका पूर्वमहानिर्देशक पुन्य ओलीका अनुसार ०३२ सालमा नेपालले पहिलोपटक नक्सा बनाउँदा लिम्पियाधुरासम्मको भाग समेटेको थियो । तर, तत्कालीन सरकारले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको थियो ।

लिम्पियाधुरा छुटाएर सार्वजनिक भएको नक्सा अहिलेसम्म चलनमा थियो ।

सन् १८१६  :  नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच सुगौली सन्धि सम्पन्न । सन्धिको धारा ५ अनुसार कालीनदीलाई सीमानदी भनिएको छ ।

सन् १८२७ :  सर्भे अफ इन्डियाले तयार गरेको अल्मोडाको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई ‘रिभर अफ काली’ भनिएको छ । त्यसको पूर्व नेपाल र पश्चिम इन्डिया भनिएको छ ।

सन् १८५६ : सर्भे अफ इन्डियाले कलकत्ताबाट प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ । यो नक्सामा पनि पूर्व नेपाल र पश्चिम इन्डिया भनिएको छ ।

सन् १८७९ : ब्रिटिस अधिकारीहरूले जारी गरेको नक्सामा संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ पारियो । त्यसपछिका नक्सामा लिम्पियाधुराभन्दा ३१० वर्गकिलोमिटरयता लिपुलेकबाट बग्ने खोलालाई कालीनदी भनियो ।

विसं २०३२ : त्यसअघिसम्म नेपाल ब्रिटिस भारत र भारतका नक्सामा भर पर्दै आएको थियो । नेपाल आफैंले नक्सा तयार पारेको विसं २०३२ सालमा हो ।

नक्सा तयार पार्न नेपाललाई सघाउन राष्ट्रसंघबाट एचई क्यालावे आएका थिए भने नापी विभागका तर्फबाट नक्सा तयार गर्ने महाशाखा प्रमुख पुन्यप्रसाद ओलीको नेतृत्वमा टोली खटिएको थियो ।

पछि नापी विभागका महानिर्देशकसमेत भएका ओलीका अनुसार नक्सा तयार पार्दा लिम्पियाधुरासम्मको भूमि समेटिएको थियो । तर, तत्कालीन पञ्यायती सरकारले अहिले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको उनी बताउँछन् ।

नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ । सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो ।

कालीको मुहान लिम्पियाधुरादेखि लिपुलेकसम्म भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अब नेपालको नक्सा प्रयोग भएका हरेक सरकारी दस्ताबेजमा छाप पनि परिवर्तन हुनेछ । यो खबर आजको नयाँपत्रिकामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?