काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र पुराना सोच, शैली र पदका लागि मरिहत्ते गर्ने प्रवृत्ति देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीको पहिलो महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनहरू सुरु भएकै दिन आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
रास्वपाको वडा र पालिका तहका अधिवेशनहरू सम्पन्न भई आज (जेठ २३ गते) र भोलि (जेठ २४ गते) जिल्ला अधिवेशनहरू भइरहेका छन्। यसै सन्दर्भमा उनले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको विधि-पद्धति र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन् ।




