सान्टियागो, ६ भदौ । चिलीको अन्टार्कटिक क्षेत्र र दक्षिणी ड्रेक प्यासेजमा बिहीबार ७.५ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ ।
भूकम्प साँझ १०ः१६ बजे (०२१६ जिएमटी शुक्रबार) करिब ६.७ माइल (१०.८ किलोमिटर) गहिराइमा गएको थियो । यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको बताइएको छ ।
ड्रेक प्यासेज दक्षिण अमेरिका र अन्टार्कटिकाबीच फैलिएको पाँच सय माइल फराकिलो अशान्त जलडमरूमध्य हो । यसले एटलान्टिक र प्रशान्त महासागरलाई जोड्छ ।
राष्ट्रिय सुनामी चेतावनी केन्द्रले पनि सुनामी आउने सम्भावना नभएको पुष्टि गरेको छ ।




