काठमाडौँ, जेठ १२ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबी अब देश छोडेर भाग्न नपाउने भएका छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरानको नाम ‘नो फ्लाई लिस्ट’ मा परेको छ ।
अल कादिर ट्रस्ट मुद्दामा इमरानलाई मे ९ मा पक्राउ गरिएको थियो । त्यसपछि देशमा चरम हिंसा भयो र सो हिँसामा ८ जनाको मृत्यु भएको थियो । इमरानका समर्थकहरूले सेनाको बेसमा आक्रमण गरेका थिए र जिन्ना हाउस समेत जलाइएको थियो ।
इमरानविरुद्ध आतंकवाद विरोधी ऐन सहित करिब १४० वटा मुद्दा दर्ता छन् । सेनाले पनि इमरानलाई मे ९ मा भएको हिंसाको मास्टरमाइन्ड मानिरहेको छ । यही कारणले खान–बुशरासहित ६ सय जनाको नाम नो फ्लाई लिस्टमा राखिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् । अर्कातर्फ सेना प्रमुख जनरल असिम मुनीरले इमरानलाई चेतावनी दिदै सेनाको आधारमा आक्रमण गर्नेलाई नछोड्ने बताएका छन् ।