नख्खु-भैँसे पाटी सडक जेठभित्र पुरा गरिसक्ने

`

     २०८० ज्येष्ठ ११ गते ४:३०

काठमाडौँ, जेठ ११ । निर्माण सुरु भएको लामो समय भइसक्दासमेत सम्पन्न नभएको ललितपुरको नख्खु-भैँसेपाटी सडक यही जेठभित्र सम्पन्न हुने भएको छ ।

नख्खु सडकमा दुई महिनायता केही प्रगति भइरहेको देख्न सकिन्छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले अहिलेको कामको गति हेर्दा मुख्य सडकमा सम्पन्न हुन लामो समय नलाग्ने देखिएको बताए । उनले भने, “केही सहायक कामबाहेक मुख्य काम सकिने देखिएको छ ।”

सडक निर्माण केही समय पहिले नै सम्पन्न गर्न लागिएको भए पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइपका कारण ढिलाइ भएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले बताउँदै आएको छ । खानेपानी लिमिटेडले अहिले पनि पाइपको काम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अझै छेउपट्टिको पाइप चुहावट भएर निर्माणमा बाधा पुग्ने गरेको बताए ।

पछिल्लो समय निर्माणमा प्रगति भएको र त्यसले गर्दा अब सडकका बाँकी काम छिट्टै सम्पन्न हुने देखिएको उनले जानकारी दिए ।

पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो ।

सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?