काठमाडौँ, १० जेठ । सुशासन, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न तीनै तहको सरकारलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले विभिन्न कार्यक्रम आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको शान्ति समाजले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ ।
यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्न जोड दिँदै जेठ १ गतेदेखि शान्ति समाजले सुरु गरेको विशेष अभियानका क्रममा २२ जिल्लामा ४६ वटा धर्ना प्रदर्शन सम्पन्न भएको बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीहरूलाई बुझाइएको समाजका कृष्ण बहादुर रावलले जानकारी दिए । ३ बुँदे ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरूको सूक्ष्म अध्ययनरअनुसन्धान गरी दोषीहरू प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न आग्रह गरिएको छ ।



