एजेन्सि, पुस १ । पेरुको सर्वोच्च अदालतका न्यायाधीश जुआन कार्लोस चेक्लेले भूतपूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई डेढ वर्षसम्म हिरासतमा राख्न आदेश दिएका छन् ।
पूर्वराष्ट्रपति कास्टिलो र पूर्वप्रधानमन्त्री एनिबल टोरेसविरुद्धको अनुसन्धानलाई जारी राख्न अभियोजकको कार्यालयले डेढ वर्ष माग गरेको थियो तर टोरेसको हिरासत समयबारे केही उल्लेख नगरिएको पेरुको समाचार समिति एन्डिनाले जनाएको छ ।
कास्टिलोलाई कम्तीमा १० वर्षको कारावासको सजायको माग गरिएको छ । राज्यद्रोह र षडयन्त्रको अभियोगमा गत साता पूर्व राष्ट्रपति कास्टिलोलाई पक्राउ गरिएको थियो । उनलाई पक्राउ गरेपछि देशभर आन्दोलनले अशान्ति फैलाएको छ । पूर्व राष्ट्रपतिका समर्थकले आयोजना गरेको आम हडताल र आन्दोलनका क्रममा १४ जनाको मृत्यु भएको छ भने कैयौँ प्रहरी र सर्वसाधारण घाइते भएका छन् । घाइते चालीस जनालाई अस्पताल भर्ना गरिएको छ ।




