निर्माण सामग्रीको व्यापार ५० प्रतिशतसम्म घट्यो

`

     २०७९ कार्तिक ३० गते १२:५६

काठमाडौं, कात्तिक ३० । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएसँगै घरजग्गामा लगानी कम भएसँगै निर्माण कार्य फेरि सुस्ताएको छ।

बैंक तथा वित्तीय संस्थाले घरजग्गामा लगानी घटाएपछि निर्माण सामग्रीको व्यापार ४० देखि ५० प्रतिशतमा खुम्चिएको नेपाल निर्माण सामग्री व्यापार संघ, काठमाडौंका महासचिव टंक नेपालले बताए।

‘कारोनापछि बल्ल व्यापारले गति लिएको थियो उनले भने, फेरि सुस्तायो।’

उनका अनुसार अहिले आवासीय घर निर्माण काम ठप्प छ। सरकारी तथा निजी प्रोजेक्टमा थोरै मात्रामा निर्माण सामग्री खपत भइरहेको छ। बैंक तथा वित्तीय संस्थाले घरजग्गा कर्जामा लगानी नबढाएसम्म निर्माणका कामले गति नलिने उनको भनाइ छ।

‘अधिकांशले घर बनाउने भनको बैंकबाटै ऋण लिएर हो,’ नेपालले प्रस्ट्याए।

इँटाको खपत अहिले २० देखि ३० प्रतिशतमा खुम्चिएको नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्र चित्रकार बताउँछन्।

कोरोनापछि धेरैजसो इँटा उद्योग बन्द भएका थिए। चलिरहेकाहरूको पनि कारोबार एकदमै कम छ। कर्जा सहजै नपाइने, पाए पनि चर्को ब्याजदर र महँगी धेरै हुँदा उपभोक्ताको क्रयशक्ति घटेको र यही कारण निर्माणका काम अघि नबढेको उनको अनुमान छ।

‘वर्षैपिच्छे इँटा उद्योग कम सञ्चालन हुन थालेका छन्,’ उनले भने, ‘इँटा बिक्री गर्न सक्ने अवस्थै छैन भन्दा हुन्छ।’

चित्रकारका अनुसार गत वर्ष ७ सय ५० वटा उद्योग सञ्चालनमा थिए। अहिलेको वर्ष ४ सय ५० उद्योग मात्रै सञ्चालन हुने छाँटकाट देखिएको छ। वार्षिक तीन अर्ब रूपैयाँ बराबरको इँटा उत्पादन भइरहेकामा कोभिडपछि डेढ अर्ब रूपैयाँको मात्र उत्पादन भएको उनले बताए।

निर्माणका योजना ठप्प हुँदा कुल क्षमताको २५ प्रतिशत मात्रै सिमेन्ट उत्पादन भइरहेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए। उनका अनुसार देशभर सञ्चालित सिमेन्ट उद्योगबाट वार्षिक २ सय ५० करोड टन सिमेन्ट उत्पादन क्षमता छ।

अहिले गिटी-बालुवाको व्यापार पनि ६० प्रतिशतले घटेको क्रसर उद्योग व्यवसायी महासंघका महासचिव पुरूषोत्तम रेग्मीले बताए।

निर्माण योजनाका काम सुस्ताएसँगै डन्डी उद्योगमा पनि यसको असर परेको छ। देशभर सञ्चालित डन्डी उद्योग अहिले कुल क्षमताको २५ प्रतिशतमा चलिरहेको सर्वोत्तम स्टिलका सञ्चालक आनन्द नेपालले बताए।

निर्माणको काम सुस्ताएपछि त्यसको असर रङ उद्योगमा पनि परेको छ। हाल साना ठूला गरी ४० वटा रङ उद्योग छन्। ती उद्योगले ६० प्रतिशत मात्रै उत्पादन गरिरहेका नेपाल रङ उत्पादक संघका अध्यक्ष विश्वप्रकाश शाखःले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?