२ पटक स्थगित भएको एन्फा कार्यसमितिको बैठक आज बस्दै

`

     २०७९ श्रावण २६ गते ११:१९

काठमाडौं, साउन २६ । २ पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्बाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् ।

आफू अनूकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि नेम्बाङले चुनावी सहयोगी थापा समूहलाई पाखा लगाउदै आएका छन् । चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नविन पाँडेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् ।

पाँडेबाट बढी दबाब खेप्दै आएपछि नेम्बाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाँडे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाँडेको बर्खास्तीको माग गरेको छ । जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तरराष्ट्रिय विभाग प्रमुख पाँडेको बर्खास्ती माग गरेका छन् ।

यस्तै, प्रवक्ता सहित तीन सहमहासचिव, मानार्थ अध्यक्षको नियुक्त हुनेछ । यस्तै, महिला साफ आयोजना समेत मुख्य विषय रहेको छ । बैठकमा २२ एजेन्डा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?