काठमाडौँ, साउन २२ । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालका डाक्टरदेखि सरसफाइकर्मीसम्म कोरोना संक्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालका ४ डाक्टरसहित १० जनामा संक्रमण देखिएको हो ।
निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अन्य स्वास्थ्यकर्मीमा समेत ज्वरो र रुघा खोकीलगायत लक्षण देखिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई ३ देखि ५ दिन आइसोलेसनमा राखेर सेवामा फर्काउने गरिएको उनले बताए । बिरामीको चापसमेत बढेका बेला स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवाप्रवाहमा समस्या देखिएको छ ।
अहिले इमर्जेन्सी र ओपीडीमा दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन् । अस्पतालका सबै बेड भरिभराउ छन् । निमोनिया, दम, रुघाखोकी र ज्वरोका बिरामी बढी आउने गरेको डा। भट्टले बताएका छन् । उनकाअनुसार अधिकांशको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ । बिहीबार १० जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको थियो । उनले अहिले महाकाली प्रादेशिक अस्पतालमा एन्टिजेन मात्रै परीक्षण भइरहेको र आइतबारदेखि पीसीआर परीक्षण पनि सुरु गरिने बताए ।
केही दिनयता संक्रमण तीव्र गतिमा बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहीबार मात्रै जिल्लामा ४३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको थियो । जसमध्ये गड्डाचौकी हेल्थ डेस्कमा ११, भीमदत्त नगरपालिकामा १४, बेलौरी नगरपालिकामा ८, शुक्लाफाँटामा ३, कृष्णपुरमा २ र पुनर्वासमा १ जनामा संक्रमण देखिएको छ ।




