काठमाडौँ, साउन १६ । नेपाली सेनाले झापा गाउँपालिका वडा नं ७ मदरगाछस्थित जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । सेना र नागरिक सम्बन्ध विस्तार योजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन नेपाली सेनाका पूर्वी पृतनापति सहदेव खड्काले विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीलाई हालै हस्तान्तरण गरे ।
सो अवसरमा पृतनापति खड्काले सेना र जनताबीचको सम्बन्धलाई अझ बलियो बनाउन विद्यालय भवन निर्माण गरिएको बताए । सभाकक्ष, कक्षाकोठा र शौचालयसहितको भवन निर्माणका लागि रु ३५ लाख बजेट उपलब्ध गराए पनि रु ३२ लाख १८ हजार आठ सय ५५ मा ठेक्का लागेर भवन निर्माण भएको विद्यालयका प्रधानाध्यापक पदमप्रसाद अधिकारीले बताए ।
भवन हस्तान्तरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले विद्यालय भवनले ग्रामीण क्षेत्रको शिक्षाका विकासमा टेवा पुग्ने बताए ।




