काठमाडौँ, साउन १५ । मङ्कीपक्स भाइरस सङ्क्रमणबाट ब्राजिलका १ जना ४१ वर्षीय पुरूषको मृत्यु भएको छ । त्यसको केहीबेरमा स्पेनले समेत सङ्क्रमणबाट पहिलो मृत्यु घोषणा गरेको छ ।
गत साता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले मङ्कीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने ती व्यक्ति लिम्फोमा भनिने १ प्रकारको क्यान्सरबाट पीडित रहेको र कमजोर प्रतिरक्षा प्रणाली, तथा एउटा भन्दा धेरै रोगले ग्रसित अवस्थामा रहेको छ ।
ब्राजिलमा अहिलेसम्म मङ्कीपक्सबाट १ हजार ६६ सङ्क्रमित पुष्टि भएका र ५१३ जना सन्दिग्ध बिरामी रहेको बताइएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले आफ्नो एउटा विवरणमा ३ हजार ७५० सङ्क्रमित जानकारीमा रहेको जनाएको छ ।




