काठमाडौँ, जेठ २३ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले ५ वर्षे अवधिमा १ हजार ३ सय ६ खानेपानी धारा जाडान गरेको जनाएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७४र७५ सालदेखि हालसम्म ३४ वटा योजना निर्माण गरी सो घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको बताए । सबैभन्दा धेरै वडा १ र ६ मा ६–६ वटा योजना सञ्चालन भएको छ । वडा १ मा ६ वटा योजनाबाट ९७ घर लाभान्वित भएका छन् । वडा ६ मा ६ योजनाबाट एक सय १८ घर लाभान्वित भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
यस्तै, वडा २ मा ४ वटा योजनाबाट एक सय ७० घर लाभान्वित भएका छन् । वडा ३ मा तीन योजनाबाट एक सय ७३ घर लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । उनका अनुसार वडा ४ मा चार योजनाबाट ९९ घर लाभान्वित भएका छन् । वडा ५ मा तीन योजनाबाट ६० घर, वडा ७ मा दुई योजनाबाट एक सय २५ घर, वडा ८ मा दुई योजनाबाट ५५ घर लाभान्वित भएका छन् ।




