काठमाडौं, जेठ २२ । नेपालका चार वटा हिमाल सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लु बाट नेपाली सेना नेतृत्वको टोलीले ३३ टन बढी फोहोर संकलन गरेको छ।
आइतबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित सफा हिमाल अभियान २०२२ को समापन कार्यक्रममा चार वटा अग्ला हिमालबाट ३३ टन बढी फोहोर संकलन गरेको जनाएको हो।
नेपाली सेना र शेर्पाहरूको संयुक्त टोलीले सगरमाथा, ल्होत्से, कञ्चनजंगा र मनास्लुबाट ३३ हजार ८७७ किलो फोहोर संकलन गरेको हो।
सफा हिमाल कार्यक्रमको उद्घाटन गत चैत २२ गते भएको थियो। सो कार्यक्रम आइतबार विश्व वातावरण दिवसको उपलक्ष्यमा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका थिए।
हिमाल सफा गर्न सेनाका ३० जना र शेर्पा ४८ जनाको टोली खटिएको थियो । त्यस्तै चार जना चिकित्सकहरू समेत खटिएका थिए।
सगरमाथा लगायत अरु हिमालबाट कुहिने र नकुहिने दुई थरी फोहोरको संकलन गरिएको थियो।
जसबाट कुहिने ७ हजार २२७ किलो र नकुहिने २६ हजार ६५० किलो फोहोर निकालेको हो। कुहिने र नकुहिने फोहोरको व्यवस्थापन छुट्टाछुट्टै गरिएको थियो।
नेपाली सेनाले सगरमाथा(ल्होत्से सफा गर्न ५५ दिन लगाएको थियो। यस्तै कञ्चनजंगा सफा गर्न ४४ दिन र मनास्लु सफा गर्न ४३ दिन लागेको थियो।
सफा हिमाल अभियानको यो तेस्रो चरण हो। सन् २०१९ देखि सुरू भएको यो अभियान २०२०मा कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।
त्यसयता यो अभियान हरेक वर्ष हुँदै आएको छ ।




