काठमाडौँ, जेष्ठ २० । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको छ ।
सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिनुभयो । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उहाँले बताउनुभयो ।
वर्षौँ देखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो ।
नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम
वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगरपालिका–१४ मा पिपरास्थित जीर्ण अवस्थामा रहेको नृसिंह मन्दिर पिपरामठको पुनःनिर्माण काम अघि बढाउने तयारी गरेको छ ।
नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले पिपरामठमा पुगेर त्यहाँको अवस्था अवलोकन गरेपछि पुनःनिर्माण अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पिपरामठ गुठी संस्थानअन्तर्गत रहे पनि वीरगञ्जको सम्पत्ति भएकाले यसको संरक्षण र संवद्र्धन महानगरपालिकाले गर्ने नगरप्रमुख सिंहले बताउनुभयो ।




