मौसम सफा भए मात्र अबदेखि आन्तरिक उडान गर्न पाउने

`

     २०७९ ज्येष्ठ १७ गते ४:५९

काठमाडौं, जेठ १७ । अबदेखि मौसम सफा भए मात्र आन्तरिक उडान गर्न पाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभाको बेलामा आन्तरिक उडान गर्न नदिने निर्णय गरेको हो ।

प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएपछी यस्तो निर्णय गरेको हो । अबदेखि उड्ने र पुग्ने स्थानसम्म मौसम सफा हुनुपर्नेछ । मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवचन्द्र लाल कर्णले जानकारी दिए ।

अबदेखि भने इनरुट मौसम पनि सफा हुनुपर्ने निर्णय गरिएको उनको भनाइ छ । इनरुट भन्नाले विमान उड्ने स्थान र पुग्ने स्थान र उडानको बाटो समेतलाई जनाउँछ । ती सबै स्थानको मौसम सफा नभएसम्म उडानको अनुमति नदिइने निर्णय प्राधिकरणले गरेको हो ।

यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स) बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुनेछ । भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि हो । तर, आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु नहुने उनको भनाइ छ ।

आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै प्राधिकरणले विमान उडानसम्बन्धि कडा नियम ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?