काठमाडौँ, जेठ १० । ‘कबड्डी’ फिल्मको चौंथो श्रृंखलाले नेपाली बक्स अफिसमा कोरोना महामारीयताकै उच्च ओपनिङ गर्ने संकेत दिएको छ ।
सिनेमा हलमा प्राप्त शो र अग्रिम टिकट बिक्रीको ट्रेण्ड हेर्दा दयाहाङ राई स्टारर फिल्मको पहिलो सप्ताहन्त ओपनिङ अनुमानित चार करोड रुपैयाँ हुने प्रक्षेपण छ ।
मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले सोमबार बेलुकादेखि अग्रिम टिकट बिक्री खुला गर्दै रामबाबु गुरुङ निर्देशित फिल्मलाई ८७ शो दिएको छ । प्रदर्शन इतिहासमा कुनै फिल्मले पाएको यो अहिलेसम्मकै उच्च शो हो ।
क्यूएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका प्रकाशित गरेको छ, जसमध्ये मंगलबार बिहान १० बजेसम्म ८० प्रतिशत अकुपेन्सी देखिएको छ ।
क्यूएफएक्स बक्स अफिस विभाग प्रमुख मीना कार्कीले ट्रेण्ड हेर्दा मंगलबार बेलुकासम्म शुक्रबारका सबै शोको टिकट अग्रिम बिक्री हुनसक्ने बताइन् ।
कमलपोखरीस्थित बिग मुभिजका व्यवस्थापक दीपेश शर्माले नेपाली फिल्मले पहिलोपटक आफ्नो हलमा यस्तो अग्रिम टिकट बिक्री गरेको देखेको बताए ।
नेपाल रिलिजको एक सातापछि यो फिल्म भारतका नेपालीभाषी बहुल क्षेत्रका हलमा प्रदर्शन गर्ने तयारी छ । कलाकारद्वय विजय बराल र बुद्धि तामाङले भारत रिलिजबारे मंगलबार पश्चिम बंगालको सिलगुडीमा पत्रकार सम्मेलन गर्दैछन् ।
भारत र नेपालबाहेकका विदेशी मुलुकबाट ‘कबड्डी ४’ले २ करोड रुपैयाँ नेट कलेक्सन गरिसकेको छ भने डिजिटल राइटबाट झण्डै एक करोड आर्जन गरेको छ । डिजिटल र ओभरसिज राइटबाटै फिल्मले लगानी उठाइसकेको छ ।
दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्मको नाम ‘कबड्डी स् द फाइनल म्याच’ राखिएको छ । सोमबार चलचित्र जाँच समितिले फिल्मलाई यू प्रमाणपत्र दिएको छ भने यसको लम्बाइ २ घण्टा १७ मिनेट छ ।




