रुसले १ लाख ३४ हजार ५ सय सेना भर्ती गर्ने

`

     २०७८ चैत्र १८ गते ८:२९

एजेन्सी, १८ चैत्र । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार रुसको वार्षिक कार्यक्रमअनुसार नै १ लाख ३४ हजार ५ सय नयाँ सैनिक भर्ती गर्ने आदेश पत्रमा हस्ताक्षर गरेका छन् । रुसी रक्षा मन्त्रालयको अनुसार यो भर्तीको युक्रेन युद्धसँग सम्बन्ध नरहेको बताएको छ ।

युद्ध चलिरहेको बेला भर्तिको बिषय उठ्नु संवेदनशील मानिए पनि रुसी रक्षामन्त्री सर्गेई सोइगुले मंगलबार यसरी नयाँ भर्ति गरिएको सैनिकलाई कुनै पनि युद्धग्रस्त क्षेत्रमा नपठाइने बताएका थिए ।

यसअघि ९ मार्चमा रक्षा मन्त्रालयले केही नयाँ सेनालाई युक्रेनमा पठाइएको जनाएको थियो । पुटिनले भने सो कुरालाई पटक(पटक अस्वीकार गर्दै व्यावसायिक तथा अनुभव प्राप्त सेना र अधिकारीहरूलाई मात्र युद्धमा परिचालन गरिएको स्पष्ट पारेका थिए ।

सोइगुले मन्त्रालयको आफ्नो वेबसाइटमा भनेका छन्, ‘अधिकांश नयाँ भर्तीमा आउने सेनालाई तालिम केन्द्रहरूमा तीनदेखि पाँच महिनासम्म व्यावसायिक तालिम दिइने छ । तर म के कुरामा जोड दिन्छु भने उनीहरूलाई कुनै युद्धभुमिा खटाइने छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?