काठमाडौँ, फाल्गुन २६ । बुधबार राजेश हमाल अफिसियल नामक युट्युब च्यानलमा पोस्ट गरिएको ‘अ डे विथ राजेश हमाल’ शीर्षको भ्लगको ट्रेलरमा हमालले नेताहरूले भाषण गरे पनि व्यवहारमा उतार्न नसकेको बताएका हुन् ।
सहरलाई व्यवस्थित बनाउन कसैको ध्यान नपुगेको उल्लेख गर्दै उनले भनेका छन्, ‘सहरलाई ब्युटिफाई गर्ने कुरामा कसैको ध्यान गएन । भाषणमा चाहिँ भनिरहेका हुन्छन् । प्राक्टिकल्ली सोच नपुगेर हो कि ढंग नपुगेर हो कि ?’
त्यस्तै उनले भिडियोमा काठमाडौंको मेयर बन्ने चाहना पनि व्यक्त गरेका छन् । ‘एकचोटि काठमाडौं सहरको मेयर बन्नु पो पर्छ कि क्या हो ?,’ हमालले भिडियोमा भनेका छन् ।
चुनाव नजिकिँदै गर्दा विभिन्न व्यक्तिले आफूलाई उम्मेदवारका रूपमा उभ्याएका छन् । यसअघि र्यापर बालेन शाहले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरिसकेका छन् ।




