पाकिस्तानको मस्जिद विस्फोटनमा परि ५६ बढीको मृत्यु,सयौं गम्भिर घाइते

`

     २०७८ फाल्गुन २० गते ३:४६

काठमाडौं, फागुन २० । पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगिसकेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले उल्लेख गरेको छ । अस्पताल तथा प्रहरी अधिकारीहरूले समेत मृत्यु भएको पुष्टी गरिसकेका छन् । पेशावरका प्रहरी परिचालन प्रमुख वरिष्ठ सुपरिटेन्डेन्ट हरुन राशेदले सिन्ह्वासँग बताए अनुसार दुई जना आतङ्ककारीले मस्जिदमा प्रवेश गर्न खोजेको र त्यहाँ ड्युटीमा रहेका प्रहरी कर्मचारीसँग भएको तनावपछि आत्मघाती आक्रमण गरेको बताए । घटनामा एक प्रहरीको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको बताइएको छ ।

प्रत्यक्षदर्शी मश्ताक खानका अनुसार प्रार्थनाको समयमा विस्फोट भएको र मस्जिदको दुई तले भवनमा ठूलो सङ्ख्यामा उपासकहरू उपस्थित भएको बताए । उनले भने “ठूलो विस्फोटपछि कतिपय मृत शरीरबाट उछिट्टिएका शरीरका भागहरू देखिएका थिए भने आक्रमणबाट घाइते भएका मानिसहरु सहयोगको लागि रोइ कराइ गरिरहेका देखिएको थियो । यो मैले आफ्नो जीवनमा देखेको सबैभन्दा ठूलो विस्फोट थियो । ”प्रारम्भिक अनुसन्धानपछि अधिकारीले यो सर्वसाधारणलाई लक्षित गरी गराएको आत्मघाती बम विस्फोट भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?