काठमाडौं, फागुन ११ । तनहुँकी १७ वर्षीया गायिकाले नायक पल शाहले आफूमाथि बलात्कार गरेको दाबीसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारविरुद्धको जाहेरी दर्ता गराएकी छिन्। करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता भएसँगै १७ वर्षीया गायिकाले मेडिकल चेकअप पनि गराइसकेकी छिन् ।
बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै प्रहरीले अभिनेता पल शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डीएसपी युवराज खड्काले शाहविरुद्ध जाहेरी दर्ता भएको र आवश्यक अनुसन्धान सुरु गरिसकेको जानकारी गराएका छन्।
बिभिन्न म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला अभिनेता शाहले फकाएर आफूमाथि करणी गरेको गायिकाको आरोप छ । उनले अभिनेता शाहले आफूलाई फकाएर पटक पटक करणी गरेको दाबी गर्दै आएकी छन् । जबरजस्ति करणी भएको पुष्टि भए अबको केही घण्टा भित्रै नायक शाह पक्राउ पर्ने प्रबल सम्भावना रहेको जानकारहरु बताउँछन् ।



