ओकस सम्झौताको चीनले गर्‍यो आलोचना

`

     २०७८ आश्विन ०१ गते ९:१३

काठमाडौँ, १ असोज । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको चिनियाँ विदेश मन्त्रालयले गैरजिम्मेवार कदमको संज्ञा दिदै आलोचना गरेको छ ।

बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले तीन देशका पछिल्लो कदम संकीर्ण सोचको उदाहरण भएको बताए ।

बुधबार ३ देशबीच भएको सुरक्षा सम्झौतामार्फत अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी उपलब्ध गराइने भएको छ । सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्ससँगको ५० अर्ब अस्ट्रेलियन डलरबराबरको रक्षा सम्झौता रद्द गरेको छ । एसिया प्रशान्तमा चीनको बढ्दो प्रभाव कम गर्न ‘ओकस’ सम्झौता गरिएको बताइएको छ । उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ ।

लामो समयदेखि विवादित बनेको उक्त क्षेत्रमा हतियारको अन्तर्राष्ट्रिय रूपमा हुने ओसारपसार रोक्ने प्रयासमा धक्का पुग्ने पनि प्रवक्ता लिजियानको टिप्पणी छ । ‘ओकस’ सम्झौताले क्षेत्रीय शान्ति र स्थायित्वमा खलल पुर्‍याउने पनि उनको भनाइ छ । उनिहरुले उक्त सम्झौता गरेर भूराजनीतिक खेल खेलेको चीनको आरोप छ ।

सुरक्षा सम्झौता एकदमै गैरजिम्मेवार तरिकाले गरिएको र अस्ट्रेलियाले आफूलाई चीनको विरोधीका रूपमा उभ्याउनुका साथै अस्ट्रेलियाले परमाणु निशस्त्रीकरणसम्बन्धी सन्धिको उंल्लंघन गरेको उनको भनाई छ । छिमेकी मुलुकहरूले प्रश्न उठाउनुपर्ने पनि चीनको माग छ ।

कुनै पनि क्षेत्रीय संरचना तत्कालीन समयको शान्ति र विकासका लागि हुनुपर्ने प्रवक्ता लिजियानले बताए । उनले यस्ता संरचना तेस्रो देशलाई निशाना बनाउनका लागि प्रयोग गर्न नहुने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?