काठमाडौँ, २३ वैशाख । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले विश्वासको मत लिने नाममा प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक बाटोतिर जान खोजिरहेको आरोप लगाएका छन् ।
बिहीबार नयाँवानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले प्रधानमन्त्रीले विश्वासको मत नपाउने दावी गरेको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते संसदको विशेष अधिवेशन बोलाइएको छ ।
नेता पुनले भने, ‘प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु हुन्न र अरु कुनै बाटोतिर, असंवैधानिक बाटोतिर जान खोज्नु भएको छ।’
उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि दुई वा दुई भन्दा बढी दलहरुको सरकार बन्नेतर्फ मार्गप्रशस्त गर्नुपर्छ, त्यसअनुसार राष्ट्रपतिले आह्वान गर्नुपर्छ ।’
प्रधानमन्त्री ओली फेरि पनि संसद विघटन गर्ने सोंचमा रहेको बताउँदै पुनले भने, ‘विश्वासको मत नपाएको दिन नै संसद विघटन गर्ने र अरु ठाउँमा राजनीतिलाई विषयान्तर गर्ने, फेरि अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक ढङ्गले काम गर्न खोज्नु भएको छ भन्ने एकदम स्पष्ट छ । यही देखेर आफूहरुले सरकारलाई दिएको समर्थन लामो समयसम्म फिर्ता नलिएको उनको प्रष्टीकरण छ । आफूहरुले सरकारलाई दिएको समर्थन कायम राखेका कारण प्रधानमन्त्री ओलीले बाध्य भएर विश्वासको मत लिन खोजेको पुनको दाबी छ ।’
नेता पुनले भने, ‘हामीले समर्थन फिर्ता लिएपछि यी फिर्ता लिए, मलाई अस्थिर बनाए भन्नु हुन्थ्यो, हामीले समर्थन गरिराखेको हुनाले बाध्य भएर आफ्नो वास्तविक राजनीतिक चरित्र देखाउनु भएको हो।’




