काठमाडौँ, २३ वैशाख। वरिष्ठ सङ्गीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।
आज (बिहीबार) करिब १:४५ मा उनको वसुन्धरास्थित न्युरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले जानकारी दिए ।
सविनले भने, ‘सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ । अहिले केही समय अगाडि निधन भएको छ। श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको बताए ।
विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो ।
उनको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।
उनको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो ।
उनको एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि गुञ्जिरहेको पाइन्छ।




