एजन्सी, २३ असोज । कोभिड–१९ (कोरोना भाइरस)विरुद्धको भ्याक्सिन (खोप) बनाउने र विभिन्न मुलुकमा दुई अर्ब डोज वितरण गर्ने विश्वव्यापी अभियानमा औपचारिक रुपमा चीनमा पनि जोडिएको छ । शुक्रबार (आज) चिनिया विदेश मन्त्रालयले ‘कोभ्याक्स’ नाम दिइएको सो अभियानमा चीन पनि जोडिएको जनाएको हो ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले ट्वीट गर्दै साझा समुदायको अवधारणालाई मजबुद् बनाउन र कोरोना भाइरसको खोपलाई विश्वमा सबैको पहुँचमा पु-याउन गरिएको प्रतिबद्धतालाई सम्मान गर्न चीनले यस्तो महत्वपूर्ण कदम चालेको जनाएकी छन् ।

उक्त कोभ्याक्स अभियानमा विश्व स्वास्थ्य संगठन, गाभी, द भ्याक्सिन अलाइन्स र द कोलियसन फर एपिडिमिक प्रिपेडनेस एन्ड इनोभेसन्सलगायत संस्थाहरू रहेका छन् । यसको अनुसन्धान तथा वितरणमा लाग्ने खर्च विकसित तथा विकासशील राष्ट्रहरूले व्यहोर्नु पर्ने बताइएको छ ।
यस अभियानमा एक सय ५६ राष्ट्र जोडिएका छन्, जसले कोरोना भाइरसको खोप प्रदान गर्नु मुख्य उद्देश्य राखेको छ । सुरूमा यस खोपलाई हरेक राष्ट्रका जोखिममा रहेका ३ प्रतिशत जनसंख्यालाई प्रदान गरिने र त्यसपछि मात्रै सबै मुलुकका २० प्रतिशत जनसंख्याकालाई खोप दिइने बताइएको छ ।




