बेइजिङ, ५ भदाै । चीनको राजधानी बेइजिङका बासिन्दाले अब घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने भएको छ । सरकारको नयाँ मापदण्डअनुसार बेइजिङका बासिन्दाले हिजो बिहीबारदेखि घरबाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउन नपर्ने चाइना डेलीले जनाएको छ ।
चाइना डेलीका अनुसार अर्को व्यक्तिसँग नजिकै जानुपर्दा भने मस्क लगाउनुपर्ने छ । बेइजिङ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बिहीबारदेखि नयाँ नियम लागू गरेको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको भन्दै चीनमा पछिल्ला दिनमा विभिन्न प्रतिबन्धहरु हटाइँदै लगिएको छ । केही दिनअघि मात्रै हुबेईको वुहानमा एउटा स्विमिङ पुलमा भएको पार्टीमा सयौं मानिस सहभागी भएको तस्बिर सार्वजनिक भएको थियो ।
नयाँ नियमअनुसार बेइजिङमा अरु मानिससँग एकदमै नजिक९क्लोज कन्ट्याक्ट० मा जानुपर्ने भए मात्रै मास्क लगाउनुपर्ने छ । बालबालिकालाई भने अभिभावकको निगरानीमा लिएर हिँड्नुपर्नेछ । सार्वजनिक स्थानमा थुक्न भने कडा प्रतिबन्ध लागू गरिएको छ ।
यसअघि बुधबार चिनियाँ अधिकारीहरुले करिब ४ महिनादेखि कोरोना संक्रमणबाट चीनमा कसैको पनि मृत्यु नभएको बताएका थिए ।




