निर्जन जङ्गल भित्र
म एक्लै अनकन्टार बाटोहरूमा
नदीको प्रवाह सँगै बगि रहेँ
ज्वारभाटा इत्रिदै किनार नाघ्न खोज्छ
देह भित्र तमोर बहुलाउँछ
कोसी पारी बगर उफ्रन्छ
लहर पछ्याउँदै अरुण किनार तोड्न खोज्छ
म किनार अशान्त छु
धेरै बर्ष पछि नदी भन्दा फरक छु
हो तिमी सँग असहमत छु ।
नदीका किनारहरू रमिते बनिरहेछन्
उसले नदी सँगैे जङ्घार तरेको छैन/समुन्द्र झरेको छैन
निष्प्राण ऊ उभिएर रमिता हेरि रहेछ
नाभि हराएका किनार
सुवास लुटिएर अशान्त छन्
वर्षौँ पछि नदीको विरुद्धमा
सतिसाल भएर नदीको किनार सँगै
म तिम्रो रमिता हेरि रहेछु ।
हृदयमा आगो सल्किन्छ
भुँडी बटारिन्छ वाकवाकी चल्छ
आङ जिरिङ् जिरिङ् हुन्छ
घोक्रो चिर्दै बारुद ओकलिन्छ
छब्बिस सय बर्ष पछि मैल के पिएँ?
सुनामी चल्छ, उधै हुन्छ उभै हुन्छ
घाइते बाघ झै क्रूर छ शरीर
सुन्दरता शान्त अनि विशाालताको क्षितिज नाप्दै
म घाईते खहरे झैँ अशान्त छु
आज वर्षौँ पछि नदी भन्दा फरक छु
हो तिमी सँग असहमत छु ।

सैलुङगे सिसीपसहरू
आफ्नै भूगोलमा कसरी दास भएछन् ?
बाजेकोे गोहोहरू अझै दसी छन्
च्याव्जुकोे सेहेहरू घुमि रहन्छन्
लुङ्हरूमा फूल चढाउँदै म वर पर वर पर
लुङ्हरू तर्दै तर्दै तोक्मा अड्याउँछु
ईभाङ् बिउँझिएर लखेट्छ, बिपनामै ऐठन हुन्छु
चारखोल नशा नशामा उम्लिन्छ
हजार बर्ष देखि हामी सँगै छौँ
तिमी नदीको प्रवाह
म कसरी किनार…।!



