एजेन्सी, २५ माघ । भियतनाममा एक व्यक्तिले श्रीमतीको शव चिहानबाट खनेर अवशेष निकालेर त्यसलाई प्लास्टरको मूर्ति बनाएका छन् । उक्त मूर्तिसँग उनी विगत १६ वर्षदेखि सुतिरहेका छन् ।
जब ली भानको यस्तो चकित पारिदिने घटना सन् २००९ मा सार्वजनिक भयो, तब धेरैले यो खबर झुटो भएको ठाने । किनभने कसैले आफ्नी श्रीमतीको अवशेष खनेर निकालेको र त्यसलाई घरमा ल्याएसँगै सुतिरहेको छ भन्ने खबर पत्याउन जो कोहीलाई पनि गाह्रै हुन्छ । तर यो कुरा साँचो हो । आफन्त, छिमेकीले उनको यस्तो क्रियाकलापको विरोध गरेपनि उनले भने आफ्नी श्रीमतीलाई कतै जान दिएका छैनन् । यो क्रम विगत १६ वर्षदेखि चलिरहेको छ ।
श्रीमतीको मृत्यु भएको सुरुवाती दिनमा ली भानले आफ्नो दिनरात श्रीमती गाडिएकै चिहानमा बिताए । तर केही महिना पछि खराब मौसम र पानी पर्न सुरु भएपछि उनी समस्यामा परे । त्यसपछि उनले श्रीमती गाडिएकै ठाउँमा खाल्डो बनाउने र उनी नजिकै सुत्ने निधो गरे । तर खाल्डो खनेर मृतक श्रीमतीसँगै बुवा सुतेको थाहा पाएका उनका सन्तानले उनलाई चिहानमा सुत्न दिएनन् ।

तर भानले श्रीमतीलाई आफूबाट टाढा राख्नेबारे सोच्नै सकेनन् । त्यसैले उनले महिलाको आकृति दिइएको एउटा खोक्रो मूर्तीलाई सिमेन्ट, प्लास्टर, बालुवा, ग्लूको प्रयोग गरेर बनाए र त्यसभित्र श्रीमतीको अवशेष राखे । त्यसपछि त्यो मूर्तीलाई आफू सुत्ने बेडमा राखे । त्यस दिनदेखि आजसम्म उनी श्रीमतीको अवशेषसँगै सुतिरहेका छन् ।




