त्यो देशको अवस्था कस्तो होला जहाँ सुशासन कायम गर्ने जिम्मेवारी पाएका प्रमुख व्यक्ति नै भ्रष्टाचारमा मिसिन्छन् । हो, यहाँ यस्तै भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राज नारायण पाठक नै घुस काण्डमा मुछिएपछि उनी विरूद्घ विशेष अदालतमा मुद्दा दायर भएको छ । उनलाई ७८ लाख घुस लिएको अभियोगमा त्यति नै रकम अदालतले धरौटी माग गरेको हो ।
अख्तियारकै विभिन्न जिम्मेवारी सम्हालेर गएका प्रमुख अधिकृत, कर्मचारी, प्रहरी, कानुनका उप सचिव लगायत धमाधम घुस काण्डमै मुछिएर अख्तियारद्वारा नै पक्राउ पर्दै आएका छन् ।
त्यसो त अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्नेत पनि अहिले सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानको दायरामा छन् ।
यो घटनाले देशमा सुशासन र स्वच्छता कायम गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै स्वच्छतामाथि गम्भीर शङ्का उब्जाएको छ । कामना गरौँ अख्तियार अख्तियार नै होस्, भ्रष्टहरूको मतियार नहोस् ।




