त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालले मरिसकेको बिरामीलाई भेन्टिलेटरमा राखेर लाखौँ ठगी गरेको आरोप मृतकका आफन्तले लगाएका छन् । कपन बस्दै आएका शेर बहादुर केसीको हड्डी सम्बन्धी समस्या भएको तर नशाको अपरेसन गरेर अस्पतालले बिरामीको ज्यान लिएको हो ।
मृतक केसी स्कुटर चलाएर आफैँ अस्पताल पुगेका थिए । तर, अस्पतालले उपचारको नाममा बिरामी माथि लापरबाही गरेपछि बिरामीको ज्यान गएको हो । इन्फेक्सन हुन्छ भन्ने लगायतका वाहानामा मृतकलाई भित्र लुकाइराखेर दिनको आठ वटा लोकल कुखुराको अण्डा, लोकल कुखुराको सुप लगायतका अनेकन परिकार र नाना थरी चिज अस्पतालमा मगाउने गरिएको थियो । त्यसै गरी, नेपालमा दश वर्षदेखि ब्यान्ड भएको औषधी अस्पतालका डाक्टरले प्रेस्क्राइब गरेको परिवारले आरोप लगाएका छन् ।
अस्पताल परिसरमा उपस्थित आफन्तहरूले यसरी ब्लु क्रस लगायतका केही अस्पतालले उपचारको नाममा कैयन् निर्दोष जनताको ज्यान लिइरहेको र अब भने जनताले नसहने बताउँदै आक्रोश पोखे ।
थप जनताले अकाल मृत्यु भोग्नु नपरोस् भनेर मृत्युसँग दलाली गर्ने वा लाससँग बार्गेनिङ गर्ने ब्लु क्रस अस्पताल तुरुन्त बन्द गर्नुपर्ने, मृतकको गलत उपचारमा संलग्न डाक्टर लगायतका सम्पूर्ण दोषीलाई छानबिन गरी आजीवन कारावासको सजाय हुनुपर्ने लगायतका माग मृतकका आफन्तले गरेका छन् ।
ओमजस्तै ब्लु क्रस पनि मान्छे मार्ने अस्पताल रहेछ भनेर पीडित परिवारले पिडा पोखेका छन् । ब्लु क्रस अस्पताल चाहिँ ओम जस्तो नहोला भनेर बिरामीलाई उपचारको लागि भर्ना गरेको पनि मृतकका आफन्तले बताए ।
मृतकका परिवारका अनुसार मृतकलाई चालीस दिन भेन्टिलेटरमा राखेर अस्पतालले चालीस लाख बराबरको पैसा ठगी गरेको छ ।
ब्लु क्रस अस्पताल बाट उचित क्षतिपूर्ति र न्याय दिलाइ पाउनको लागि पीडित परिवारले सरकारसँग माग गरेका छन् ।
यस घटनाले देश व्यापी रूपमा योजनाबद्ध ढङ्गले सरकारी तवरबाट नक्कली डाक्टरको छानबिन अगाडी बढाउनै पर्ने आवश्यकता थप टड्कारो बनेको देखिन्छ ।



