काठमाडौं, १८ वैशाख। भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् भने एक हजार सात सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।
हालसम्म भारतमा ३३ हजार ६२ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै भाइरसबाट ज्यान जानेको संख्या एक हजार ७९ पुगेको छ । ८ हजार ४३७ जना निको भएर घर फर्किएका छन् भने २३ हजार ५ सय ४६ जनामा अझै भाइरस सक्रिया नै छ ।

सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४३२ जना मानिसको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण देखिँदा १९७ जनाको मृत्यु भएको छ ।
त्यसै गरी मध्य प्रदेशमा पनि दुई हजार ५०० भन्दा बढीमा यसको संक्रमण देखिँदा एक सय २९ जनाको मृत्यु भइसकेको छ । भारतको उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ३९ जनाको मृत्यु भएको छ ।
पश्चिम बंगालमा पनि ७५८ जनामा भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा ३९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ ।




