काठमाडौं, १६ वैशाख । चीनमा विद्यालयहरु खुल्न थालेको छ । कोरोना भाइरसको महामारीपछि चीनको ठूला शहरमा विद्यालय खुल्न थालेको हो।
चीनको सांघाइमा मिडिल र हाइस्कुलका विद्यार्थी स्कुल जान थालेका छन् भने राजधानी बेइजिङमा पनि विद्यार्थीलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारीका लागि स्वीकृति दिइएको छ ।
कोरोना भाइरसको उद्गम स्थानचीनको वुहानमा भने ६ मेदेखि विद्यालय खुलाउने तयारी गरिएको जनाइएको छ । चीनले कोरोना भाइरसको संक्रमण धेरै नियन्त्रणमा आएपछि विद्यालहरु खोल्न लागेको बताइएको छ । विद्यालयमा विद्यार्थीलाई मास्क अनिवार्य गरिएको छ भने कक्षाकोठामा बस्न निश्चित दूरी कायम गरिएको छ ।

वुहान शहरका सबै कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । चीनमा गत शुक्रबारदेखि जम्मा २६ जना संक्रमितमात्र थपिएका छन् । चीनमा अहिलेसम्म ८२ हजार ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




