एजेन्सी, असार २८ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि मंगलबार टोकियोको १ बौद्ध मन्दिरमा कडा सुरक्षाबीच गरिने भएको छ । शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको गोली हानी हत्या भएको थियो ।
सोमबार आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा राखे । उक्त सभामा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्डलगायत करिब साढे २ हजार मानिस सहभागी थिए ।
शिन्जो आबेलाई पछाडिबाट गोली लागेको थियो । जापान टाइम्सका अनुसार गोली लागेका आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र रगत बगेको थियो । प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ ।
संदिग्ध आक्रमणकारीको पहिचान तेत्सुया यामागामीको रूपमा गरिएको छ । उनी नारा शहरका बासिन्दा हुन् । जापानको राज्य प्रसारक एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकले गोली हानेको हो ।




